नेपाल न्युज प्वाइन्ट डटकम
देशभर डेंगुका १४ हजार बढी बिरामी

काठमाडौं : देशभर डेंगुबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । 

केही दिन अघि पानी परेका कारणले डेंगु संक्रमण बढेको उनले बताए । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ । 

डेंगुको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ । 

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ । 

उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगु संक्रमण  देखिएको छ । काठमाडौं जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा  डेंगु संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update