काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।
सांद थापाले भने, 'आसन (सभामुखको आसन) को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं ।'
उनले यसो गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने नभए संसदमा दोहोरी चलिरहने बताए ।
कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको बताए । छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने उनको भनाइ छ ।