
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ । सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो ।
क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरुको वर्गीकरण गर्नुका साथै उनीहरुको मासिक तलब तोकेको छ । जसअनुसार क्यानले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ दिने भएको छ । यस्तै ग्रेड बीलाई ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुलाई मासिक २५ हजार तलब दिइनेछ ।
कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड एमा रहेका छन् । उनीहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् । उनीहरुले मासिक ७० हजार रुपैयाँ पाउने छन् ।
ग्रेड सी मा विनोद भण्डारी, अर्जुन साउद, प्रतिश जीसी र सन्दीप जोरा परेका छन् । उनीहरुले मासिक ५५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । उनीहरुले मासिक ३५ हजार पाउने छन् ।
हरेक प्रदेशबाट एक एक जना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ । इमर्जिङ क्याटेगोरीमा कोशीबाट दीपेश कँडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी रहेका छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी क्यानले महिला क्रिकेटरको ग्रेडिङ गर्दै नयाँ तलब निर्धारण गरेको छ । बैठकले १९ जना महिला क्रिकेटरलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको हो । जसअनुसार ग्रेड ए मा इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर रहेका छन् । उनीहरुले मासिक तलब ५० हजार रुपैयाँ पाउने छन् ।
ग्रेड बी मा कविता कुँवर मात्र रहेकी छिन् । उनले मासिक ३५ हजार रुपैयाँ तलब पाउने छिन् । यस्तै, ग्रेड सीमा रहेका पुजा महतो र अस्मिना कर्मचार्यले मासिक ३० हजार रुपैयाँ तलब पाउनेछन् । ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल रहेका छन् । उनीहरुले मासिक २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी महिलातर्फ ८ जनालाई इमर्जिङ क्याटागोरीमा राखिएको छ । इमर्जिङ क्याटेगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सिनका मरासिनी, कञ्चन श्रेष्ठ, रुवि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविण रहेका छन् । उनीहरुले मासिक २० हजार रुपैयाँ पाउने छन् ।