काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिको बोर्ड हटाएर काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ ।
पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।
मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।
‘काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।
महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।