नेपाल न्युज प्वाइन्ट डटकम
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिन स्वीप

काठमाडौं : नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज 'क्लिन स्वीप' गरेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिजमा क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरे । आसिफले टी–२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए ।

त्यस्तै अमेरिकाका जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । नेपालका सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजवंशीले एक-एक विकेट लिएका थिए ।

योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ । नेपालको टी-२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update