
काठमाडौं : नामिबियाका ब्याट्सम्यान जान निकोल लोफ्टी इटनले टी–२० अन्तराष्ट्रिय विश्व किर्तिमान बनाएका छन् । उनले टी–२० अन्तराष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गरेका छन् । उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक बनाएका हुन् ।
उनले नेपाली खेलाडी कुशल मल्लको किर्तिमानलाई तोडेका हुन् । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
यस क्रममा टी-२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।