काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको अवसरमा परदेशमा रहेका नेपालीहरुको भावनात्मक कथा समेटेर म्युजिकल फिल्म 'रमाइलो तिहार' निर्माण गरिएको छ ।
यस फिल्मले विशेषरूपमा विदेशमा रहेका नेपालीहरूको संस्कृतिक, पारिवारिक सम्बन्ध र चाडपर्वमा घरको सम्झना झल्काउँछ । लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरंगी टीका र मखमली माला लगाइ दिर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता यसमा देखाइएको छ । भाइले आफ्नो पोडकास्टमा दिदीलाई अतिथि बनाउँदा, उनले गरेको एउटा गम्भीर प्रश्नले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको बेदनालाई उजागर गर्छ, जसले वर्तमान सामाजिक संरचना र प्रवृत्तिलाई पनि औंल्याउँछ ।
यस फिल्मका निर्देशक जोयस पाण्डे हुन् । उनले 'साँघुरो' चलचित्रमार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ दृष्टिकोण स्थापित गरेका थिए । दशकपछि उनले तिहारको पारिवारिक र सांस्कृतिक सन्देशलाई म्युजिकल शैलीमा प्रस्तुत गर्दै 'रमाइलो तिहार' निर्देशन गरेका छन् ।
म्युजिकल फिल्ममा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ । अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो । मुख्य कलाकारहरूमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलिप श्रेष्ठ, अपार श्रेष्ठलगायत रहेका छन् । समीर रेग्मीलाई यस फिल्ममा नेपाली कला र संस्कृतिप्रति समर्पित पात्रको रूपमा देखाइएको छ । ताइवानका चिनइन गावोले यसको छायाँकन गरेका छन् भने नेपालका ख्यातिप्राप्त सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन् ।
'रमाइलो तिहार' नेपाली परम्परागत चाडपर्वको महत्वलाई वैश्विक स्तरमा पुर्याउने उद्देश्यका साथ बनेको म्युजिकल फिल्म हो, जसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो योगदान पुर्याएको निर्माण टिमको भनाइ छ ।