
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन् । यस्तै नेपालका कप्तान रोहित पौडेलले २४ बलमा ४२ रन बनाए । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३२ रनको योगदान दिए । सोमपाल कामीले ११ बलमा ३ छक्का र १ चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै गुल्शन झाले ६ बलमा १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समान ६ रन बनाए । सन्दीप जोराले ५ रन बनाउँदा करण केसी २ रनमा नटआउट रहे । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रनमा आउट भए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ३.५ ओभरमा २९ रन दिएर ४ विकेट लिए । यस्तै जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । नामिबियाका लागि निकोल लोफ्टी इटनले विश्व कीर्तिमानी शतक प्रहार गरे । लोफ्टी इटनले १०१ रन बनाए । उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । अर्का ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।
नेपालले अब सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।