काठमाडौं : भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो ।
विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो । शुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । त्यसपछि शुरु भएको खेलको केही समयमै भारतले गोल गर्दै १-० को अग्रता लियो । संगीता बास्फोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो, तर रेफ्रीले आफैं ह्विसल बजाएर खेल शुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । त्यसपछि विवाद हुँदा खेल झण्डै १ घण्टा रोकियो ।
खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । सावित्रा भण्डारी 'साम्बा'ले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो ।