काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रंगशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवम् दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ ।
साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतथ्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ ।
‘नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौता विपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.सँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा सोमबार जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ ।
यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।