रोल्पा : सोमबारदेखि रोल्पाको लिबाङदेखि पर्यटकीय र धार्मिकस्थल जलजलासम्मको पदयात्रा ‘घुम्न जाउँ जलजला पदयात्रा २०८१’ शुरु भएको छ ।
पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका–७ जेलबाङ र थबाङ सामुदायिक होमस्टे थबाङ गाउँपालिका–२ थबाङ रोल्पाको व्यवस्थापन तथा सुनछहारी गाउँपालिका र थबाङ गाउँपालिकाको आयोजनामा घुम्न जाउँ जलजला पदयात्रा २०८१ कात्तिक १२ देखि १४ सम्म तय गरिएको हो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा शुरु भएको छ ।
सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब एक सय ५० जनाको टोली राति ओखरेनीमा बास बसेर मंगलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।
टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख डिएसपी भरत लामा, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकारलगायत छन् ।