नेपाल न्युज प्वाइन्ट डटकम
चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं : त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

दशैं र तिहारको सार्वजनिक विदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारण लाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गरे ।

रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले निर्माण सामग्री मानिस या खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था रहे पनि काम गरिएको उनले बताए ।

‘बाढीपहिरो, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९, निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी हो,’ कार्यकारी निर्देशक घिसिङले भने ।

चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको सन्दर्भमा चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्ने उनले बताए ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०/१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । त्रिशूली थ्री बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ ।

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँद राष्ट्रिय प्रणालीमा समाहित हुनेछ ।

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन् । प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर सडकको पहुँच नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था रहेको र ती स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update