नेपाल न्युज प्वाइन्ट डटकम
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

एजेन्सी : अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ । हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।

पेन्टागनले एएफपीलाई उपलब्ध गराएको जानकारीअनुसार यी सुविधाहरूमा ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू थिए ।

हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले राजधानी सानाको दक्षिणी अल सबिन जिल्लालाई लक्षित गरी तीन अमेरिकी र बेलायती आक्रमण भएको पुष्टि गरेको छ ।

“प्रत्यक्षदर्शीहरूले राजधानी सानाका विभिन्न भागमा विस्फोटका साथै तीव्र गतिमा भएका उडानको आवाज सुनेको बताएका छन्,” अल मसिराहले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले जनवरीदेखि यमनको हुथी समूहले रेड सी र एडेनको खाडीमा विद्रोहीहरूले गरेको आक्रमणको जवाफमा पटक–पटक आक्रमण गर्दै आएका छन् ।

विद्रोहीहरूले विश्वव्यापी रूपमा महत्वपूर्ण जलमार्गमा सामुद्रिक यातायातअवरुद्ध गरेको र ती आक्रमण इजरायलको स्वामित्व भएका वा यससँग जोडिएका जहाजहरूलाई लक्षित गरी भएका  जनाएका छन् । 

हुथीले गाजा युद्धका बेला प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आक्रमण गरेका बताइएको छ । यी आक्रमणहरूले विश्व व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने ‘रेड सी’ मार्गलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ ।

करिब एक वर्षको अवधिमा १०० भन्दा बढी हुथी आक्रमणमा चार नाविक मारिएका छन् भने दुई जहाज डुबेका छन् । त्यस्तै एउटा जहाज र यसका चालक दलका सदस्यलाई गत नोभेम्बरमा अपहरण गरी हिरासतमा राखिएको छ ।

हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई समर्थन गरेको भन्दै आलोचना गरेको तीन दिनपछि शनिबारको आक्रमण भएको हो ।

ट्रम्पले मध्यस्थता गरेको अरब मुलुक र इजरायलबीच भएको सामान्यीकरण सम्झौताले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न नसकेको र उनको दोस्रो कार्यकालमा हुने मध्यस्थता पनि फेरि असफल हुने हुथी अधिकारीले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update