
कुश्मा : पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम शुरु गरेको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्मार्ट स्कुल’ कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए ।
यस कार्यक्रममा विद्यार्थीको व्यवस्थापन तथा तथ्यांक, शिक्षक तथा कर्मचारीको तथ्यांक, परीक्षा सञ्चालन, लेखा प्रणालीको व्यवस्थापन, विद्यालयमा रहेका पूर्वाधारको एकीकृत तथ्यांक, भर्चुअलरूपमा सञ्चालन गरिने कक्षालगायतका विशेषता रहेको उनले बताए ।
विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको छ ।
पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम लागू गरिएको पनि उनले बताए । यस वर्ष झण्डै रु पाँच लाखको लागतमा ११ वटा विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’लाई विद्यालयहरूले प्रभावकारीरूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने उनले जानकारी दिए ।