नेपाल न्युज प्वाइन्ट डटकम
नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० गोल अन्तरले हराएको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो । नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो ।

नेपालको जितमा फरवार्ड जिलेस्पी जंग कार्की र डिफेन्डर रोहित चन्दले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ७८औं मिनेटमा रोहित चन्दले गोल गर्दै नेपाललाई जित दिलाए । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल गरेका हुन् । उनले डेब्यू गरेको १५ वर्षपछि उनले नेपालका लागि गोल गरेका हुन् । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको थियो ।

नेपालले पुरुष फुटबलमा एक वर्षपछि पहिलो जित हात पारेको हो । फिफा विश्वकप र एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत २०२३ अक्टोबरमा प्रारम्भिक चरणमा लाओसविरुद्ध अवे खेलमा जित हात पारेयता यो नेपालको पहिलो जित हो ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update