-केडी रेम्निसिङ
अझै पनि मेरो शहर
रुमल्लिरहेको छ,
अल्झिरहेको छ,
एउटा निष्पट अँध्यारोमा,
लाग्छ अब,
आएर बचाउँला,
भगवानले ।
मेरो शहर चारैतिर,
घेरिएको पहाडले,
र त देख्दैन,
र त देख्दैन कि
यो भन्दा अर्को
संसार पनि छ,
पैठेजोरी खेल्नु छ,
जोसँग मैले,
सम्झदैन कि
संसार बृहत् छ,
म सानो शहर हुँ ।
मेरो शहरको,
सानो खोल्सी पनि
गर्जन्छ पर सिमाना
नकाटेसम्म-सिंहजस्तै,
सिमाना कटेपछि,
पनि गर्जन्छ,
अनि उसको गर्जन सुनिन्छ -"म्याउ"
मेरो शहरका ब्रेन वास्ड,
उत्तानो परेका धारणाहरु
जहिल्यै उत्तानो पर्न हतारिन्छन्
अनि
अनि खै के के उचालेर
मुखको लाज छोप्छन् ।
मेरो शहरमा २४सै घण्टा
घाम र छायाँ बाँचेका हुन्छन्
घाममात्र कहिले, छायाँमात्र कहिले
हुँदै हुन्नन्,
भन्छन् - प्रकृतिको नियम हो,
कहिले घाम कहिले छायाँ भए त,
यहाँका कलिला उम्रनै खोजेका
सभ्यताका पनि टुसा सप्रन्थे कि?
घाम पनि छाया पनि सधैँ हुँदा
गुम्सिरहन्छन् सपनाहरु
मक्कीरहन्छन् विपनाहरु
तै बरु,
तै बरु मलाई
मेरो सानो शहर
प्राणजस्तो लाग्छ,
सानो धिपधिपे चिम
बलोस् जस्तो लाग्छ,
मेरो शहरको मुटुमा ।