काठमाडौं : कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि हातपात हुनुका साथै कार्यकक्षमा तोडफोडसमेत भएको छ । नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले कार्यवाहक मेयरमाथि हातपात गर्नुका साथै कार्यकक्षमा तोडफोड गरेका हुन् ।
कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी शाक्यको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको एक कर्मचारीले जानकारी दिए ।
कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको बताइन् । कार्यवाहक मेयर शाक्यले कुनै विषयमा चित्त नबुझ्दैमा जनप्रतिनिधिले उच्छृङ्खल व्यवहार देखाउनु उचित नहुने बताइन् ।
मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । मेयर पदका लागि मंसिर १६ गते मतदान हुँदै छ। त्यसका लागि आइतबार मनोनयन गर्दाको कार्यक्रम छ ।