नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमत्री हराउनुभयो, खोजी गर्नुपर्‍यो : एमाले

काठमाडौं : प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दलहरुले संसद्का यसअघिका बैठकमा उठेका विषय सम्बोधन नभएको भन्दै विरोध जनाएका छन् ।

संसद्मा उठेका विषयमाथि प्रधानमन्त्रीले जवाफ दिने भनी सभामुखले रुलिङ गरेको विषयमा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले ध्यानाकर्षण गराएका हुन् । “संसद्मा उठेका विषयमा प्रधानमन्त्रीबाट जवाफ दिन भन्दै फागुन ६, १०, ११, १३ र १४ गतेको बैठकमार्फत सरकारलाई रुलिङ भएकामा अहिलेसम्म त्यसको कार्यान्वयन भएन । सरकार संसद्प्रति जवाफदेही भएन”, उनले भने ।

मिटरब्याजपीडितका समस्या, दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएका, बालकुमारी घटनालगायत विषयमा सांसद थापाले सरकारको ध्यानाकर्षण गराए । दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले सम्पूर्ण विषयमा सरकार जवाफदेही नभएको बताए उनले भने, 'सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पनि मिटरब्याजपीडित, लघुवित्त पीडित, दुग्ध उत्पादक किसान सडकमा रहेका विषयमा सरकारको ध्यानाकर्षण गराए । बैंक तथा वित्तीय क्षेत्रका समस्या, नेपाली युवा रुसी सेनामा भर्ना भइरहेकामा उनीहरुलाई फिर्ता बोलाउन प्रक्रिया थाल्नेलगायत विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

संसद्मा उठेका विषयमाथि प्रधानमन्त्री जवाफ माग गर्दै प्रतिपक्ष दलहरुले केहीबेर आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update