काठमाडौंः काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै कुपण्डोलबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरिएको छ ।
बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायीक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैर न्यायीक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै प्रदर्शन गरेको हो ।
सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो ।