धनगढी : गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने, ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) को साझा ‘एजेण्डा’ प्रस्तुत हुने बताए ।
गृहमन्त्री लेखकले सत्ताघटक दुई ठूला राजनीतिक दलको तर्फबाट भ्रमणअघि तयार गरिने साझा एजेण्डा नै चीन भ्रमणमा प्रस्तुत हुने भएकाले बजारमा फैलाइएको हल्लाजस्तो कुनै पनि समस्या नभएको स्पष्ट गरे ।
मुलुकमा राजनीतिक स्थिरता, सुशासन र समृद्धिका पक्षमा यो सरकार गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले सत्ता साझेदार प्रमुख दुई दलबीच अहिले कुनै पनि विषयमा असमझदारी नभएको बताए ।