नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली भन्छन्- ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, २०८४ सम्म यही समीकरण टिक्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै उनले बाहिरतिर यही मंसिरसम्म मात्र अहिलेको समीकरण जान्छ भन्ने हल्ला भएको भन्दै यसमा जनतालाई कुनै भ्रममा नपर्न आग्रह गरे । 

उनले भने, ‘बाहिर हल्ला सुनिएको थियो मंसिरसम्म मात्र यो समीकरण टिक्छ भनेको सुन्छु । तर ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ । मेरो अवधि भनेको वा म अब २०८३ असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि मैले प्रधानमन्त्री छोडेर शेरबहादुर देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउनुहुन्छ ।'

प्रधानमन्त्री ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताए । 

उनले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेससँग सहयात्रा गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update