काठमाडौँ : आइतबार पनि राहदानी वितरणको काम ठप्प छ । पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् ।
आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको छ ।
विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले छिट्टै सेवा सुरु हुने विभागको दाबी छ ।
सेवा रोकिँदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नु पर्नेहरू प्रभावित भएका छन् । बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प छ ।
प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरेको विभागले जनाएको छ । तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागले बताइरहेको छ ।
सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् ।