काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।
एमाले पार्टी कार्यालयका प्रतिनिधिले दरबारमार्गमा भएको कार्यक्रमको आयोजना काठमाडौँ जिल्ला कमिटीका भएकाले जरिवानाको पत्र पनि त्यहीँ बुझाउन भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।
महानगरले मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर गरेको भन्दै एमालेलाई १ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली त्यसै फर्किएको छ । एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् । महानगरले अब काठमाडौँ जिल्ला कमिटीमा पत्र बुझाउने कि नबुझाउने भन्नेबारे निर्णय गरिसकेको छैन ।