काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलको शुभारम्भ हुँदै छ ।
उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने छ । उद्घाटन खेल सवा १२ बजे सुरु हुनेछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा ८ फ्रेन्चाइज टिम छन् ।
विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट खेल्दै छन् । हरेक टिममा न्यूनतम ४ देखि अधिकतम ६ जनासम्म विदेशी खेलाडी छन् ।
१५ देशका ४० जना विदेशी खेलाडीहरू एनपीएलका लागि अनुबन्धित छन् । तीमध्ये ११ देशका २७ जना विदेशी खेलाडी नेपाल आइसकेका छन् ।