काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको सो भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।
भेटवार्तामा परराष्ट्रमन्त्री आरज़ु राणा देउवा पनि सहभागी थिइन् । साे अवसरमा परराष्ट्रमन्त्री राणाले आफूले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पाैडेललाई जानकारी गराएकी थिइन् ।
मंसिर १७ गतेदेखि २० गतेसम्म हुने चीन भ्रमणका लागि प्रधानमन्त्री ओली सोही दिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।