नेपाल न्युज प्वाइन्ट डटकम
रविको बयान सकियो, अब पोखरा लगिने

काठमाडौं : काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार लामिछानेको बयान सोमवार सकिएको हो । प्रहरीले उनीसँग शुक्रबारदेखि बयान लिएको हो । 

काठमाडौंमा बयान सकिएसँगै लामिछानेलाई मंगलबार पोखरा पठाइने छ ।

स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो । कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो ।

स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

यसैबीच लामिछानेविरुद्धको राहदानी दुरूपयोग मुद्दा हेर्न नभ्याइनेमा परेको छ । लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको भनी युवराज पौडेल ‘सफल’ ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update