नेपाल न्युज प्वाइन्ट डटकम
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा प्रधानमन्त्री प्रचण्डद्वारा देउवा र ओलीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान सिंहदरबारमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसदको कानून न्याय तथा मानवअधिकार समितिमा विधाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।

मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारीरूपमा क्रूरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा सहमति भएको छैन । सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने, मानव अधिकारको उल्लंघनका घटनामा मेलमिलापको लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय पनि टुंगिन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update