काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको सफलताबाट उत्साह मिलेको बताएका छन् । उपनिर्वाचनको परिणामबाट पार्टीले सफलता प्राप्त गरेकोमा दाहालले खुशी व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले मंगलबार एक प्रेस व्यक्तव्य जारी गर्दै निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबाट पार्टीले उत्साहजनक सफलता हाँसिल गरेको उल्लेख गरेका छन् । स्थानीय तह उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, तीन उपप्रमुख र ७ वडाअध्यक्षसहित ११ स्थान जितेको छ ।
उनले जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उपनिर्वाचनलाई भ्रष्टाचार र सुशासनका पक्षको नयाँ संकल्पका रूपमा लिएको उनले बताएका छन् ।
उनले भनेका छन,‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’