गोरखा : गोरखाको अजिरकोट गाउँपालिकाले आधारभूत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश गरेको छ ।
स्थानीय सरकार सञ्चालन मापदण्ड अन्तर्गत रहेर आधारभूत तहको पाठ्यपुस्तकमा माओवादी जनयुद्धसम्बन्धी पाठ्यसामग्री समावेश गरिएको हो ।
गाउँपालिका अध्यक्ष दीपक देवकोटाले कक्षा ५ को अजिरकोट सेरोफेरो पाठ्यपुस्तकको सामाजिक चेतना शीर्षमा माओवादी जनयुद्धसम्बन्धी सामाग्री राखिएको जानकारी दिए ।
गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको माओवादी जनयुद्धबारे अहिलेका पुस्तालाई जानकारी गराउन उक्त सामग्री राखिएको उनको भनाइ छ ।
उनले परिवर्तनको बारेमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलनको साथसाथै गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको जनयुद्धबारेमा अहिलेका पुस्तालाई अवगत गराउनु स्थानीय पालिकाको कर्तव्य भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कक्षा १ देखि १० सम्मको अध्ययन अध्यापन गराउने जिम्मा स्थानीय तहलाई दिइएको छ । सोहीअनुसार स्थानीय तहहरुले आ-आफ्नो क्षेत्रका इतिहासलगायतका विषय समेटेर पाठ्यपुस्तकमा सामग्री राख्ने गरेका छन् ।