
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । नामिबिया र नेदरल्याण्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि फाइनलमा नेपाल र नेदरल्याण्ड्सको भेट पक्का भएको हो ।
नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । जसअनुसार अंक तालिकामा नेदरल्याण्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।