काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमण राम्रो र सफल रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चार दिने चीन भ्रमणबाट फर्केपछि बिहीबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल र चीनको हितमा काम गर्ने सल्लाह भएको बताए ।
चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको प्रधानमन्त्रीले दाबी गरे । ‘चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेट एकदमै राम्रो भयो । दुई देशको हितका लागि काम गर्ने सल्लाह भयो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताए । अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको उनले स्पष्ट पारे ।
‘अस्ति मैले आमसभामा पनि ऋण लिन जाँदै छैनौं भनें । ऋण सम्बन्धि कुरा पनि चलेन, छलफल पनि भएन । हामीले यस पटक बीआरआईअन्तर्गतका विभिन्न परियोजनाका कुरा ग¥यौं । हरेक परियोजनामाअन्तर्गत पछि हामी छुट्टै छलफल गर्छौं, सम्झौता गर्छौं, कसरी कार्यान्वयन गर्ने भनेर’, ओलीले भने, ‘हामीले अहिले जे प्राप्त गरेका छौं, सम्झौता ऋण होइन । ऋणको कुरा किन आउँछ । ऋणको सारंगी किन पटक–पटक बजिरहेको छ ।’
ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुने भन्नेबारे पछि छलफल हुने बताए । प्रधामनन्त्री ओलीले अब १८ महिनापछि प्रधानमन्त्री पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गरे । ‘अब १८ महिनाजति छ क्यारे मेरो पालो, त्यसपछि शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु । उहाँले चुनाव गराउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा सबैले बहुमत ल्याउने कोसिस गरौँला । हाम्रो गठबन्धन चुनावसम्मका लागि हो ।’
ओलीले अनुकूल हेरेर भारत भ्रमणमा जाने पनि बताए । उत्तर गएर आउनुभयो, दक्षिण कहिले जानुहुन्छ ? भनेर पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, ‘अनुकूलमा जाने हो । अब फर्किएकै दिन कसरी भन्नु ।’
‘दक्षिणको मिडियाले मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन’, उनले भने, ‘भारतका लिडरहरूले यस्तो गरेको थाहा छैन ।’
प्रधानमन्त्री ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्ड २०८३ साल मंसिरभित्र सम्पन्न हुने बताए । उनले नारायणगढ–बुटवल सडक खण्डको निर्माणको काम प्रारम्भ भएकाले ८३ साल मंसिरभित्र सम्पन्न हुने बताएका हुन् ।