नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओलीले गरे दमक भ्यु टावरको उद्घाटन

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर ३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै यो परियोजना नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताए ।

प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुनेसमेत बताए ।  विश्वका धेरै मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको भन्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

यस टावरले समग्र कोशी प्रदेशलाई घरेलु र विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए ।

मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो । 

चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।

दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो टावर परिसरलाई पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचामा छुट्टयाइएको छ । 

१५,६११ वर्ग मिटरमा फैलिएको दमक व्यापारिक कम्लेक्समा बेसमेन्ट, ग्राउन्ड फ्लोर, सहित १८ तल्लाहरू छन्, जसमाथि स्टीलको २८ मिटर टावरले कुल १०० मिटरको उचाइमा पु¥याउने मन्त्रालयको भनाइ छ ।

भवन विश्वविख्यात वास्तुकार र शहरी योजनाकार लु कोबिजियको वास्तुकलामा स्मारकत्वको अवधारणाबाट अभिप्रेरित भएर सुरूवात गरिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update