चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।
उनले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए ।
साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए । प्रचण्डले कांग्रेस र एमालेले प्रधानमन्त्री बनिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई प्रस्ताव गरेको आफैंले देखेको दाबी गरे ।
प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरे । उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे ।
उनले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई नरोके संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।