काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले पोखरालाई ५ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो।
सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा २ बल अगावै १४८ रनमा अलआउट भएको हो । पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए । कुगेलेइनले ३.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिएका थिए । साथै हर्मीत सिंहले पनि ३ विकेट लिए।
पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाए । ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे भने ईशान पाण्डेले १० रन बनाए । यस्तै, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडेका थिए ।
६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेटरनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।