जिरी, दोलखा : दोलखा जिल्लामा अवस्थित च्योर्दोङ समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा रहेको एक रमणीय हिलस्टेसन हो । धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ । जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान शुभारम्भ गरिएको हो ।
‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भएको छ । अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू, स्थानीय युवाहरुको सहभागी भएका थिए । अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीं क्याम्पिङ गरेका थिए । नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए ।
यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ ।
च्योर्दोङ डाँडामा च्योर्दोङेश्वर महादेवको बास छ। यहाँबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले यहाँ पुग्ने जो कहिलाई मन्त्रमुग्ध बनाउँछ, मन आन्दित बनाउँछ , सबै थकान मेटाउँछ ।
च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ ।
हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ ।
च्योर्दुङ हिन्दू र बौद्ध संस्कृतिहरूको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म, र परम्परा एकअर्कासँग जोडिएका छन् ।
च्योर्दोङको पर्यटन सम्भावना र प्रचार अभियान
च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हौं । साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं ।”
नेपाल साकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए । “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने ।
डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो। अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो । काठमाडौं नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ ।”
लेखक लोकराज भट्टले भने, “च्योर्दोङ एक यस्तो स्थान हो जहाँ एकै ठाउँबाट लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ। र पहाडी र हिमाली भूदृश्यले कथा सिर्जनाका अनेकौं सम्भावना दिन्छन् ।”
‘जाऔं है च्योर्दोङ’ अभियान पर्यटन प्रवर्द्धन मञ्च नेपालको ब्यानरमा आयोजना गरिएको हो। डेढ दशकदेखि जिरी र दोलखाको पर्यटन विकासमा सक्रिय लिलाराम खड्काको नेतृत्वमा यो अभियानले उल्लेखनीय गति लिएको छ ।
टोलीमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा, र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए। साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए । साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए।
च्योर्दोङ यात्रामा पत्रकारहरू राजकुमार गजुरेल, सुरेन्द्र राना मगर, लेखक तथा पत्रकार रोहेज खतिवडा, लेखक लोकराज भट्ट, फोटो पत्रकार जीवन लामा, उज्जवल श्रेष्ठ र काजी थापा सहभागी थिए ।
साथै पत्रकार तथा शिक्षक केन्द्र ज्योति खड्का, दोलाखाका फोटो पत्रकार जिवन लामा, व्यावसाय केशव कार्की (माडे), युवा होटल व्यवासायी तेजेस्वी वस्नेत र सुमन खड्का र प्रहरी निरीक्षक गनेन्द्र हाङ्ग गजुमको पनि सहभागिता थियो ।
अभियानमा क्याम्पिङको व्यवस्थापन सगरमाथा आरोही लालबहादुर जिरेलको नेतृत्वमा १५ जना स्थानीय युवाहरुले गरेका थिए ।
च्योर्दोङ, जिरी नगरपालिकाको र गौरीशंकर गाउँपालिकाको शीरमा अवस्थित छ। हाल पर्यटकको लागि बासस्थानको (पाटी वा धर्मशाला) सुविधा छैन । हाल यहाँ केवल क्याम्पिङ गर्न सकिन्छ ।
अभियान टोलीले जिरीबाट डेढ घण्टाको जिप यात्रा गर्दै क्याङसी पोखरी पुगेका थिए । त्यसपछि तीन घण्टा पैदल यात्रा गर्दै च्योर्दोङ डाँडामा पुगे । यस यात्रा अनुभवले च्योर्दोङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना झल्काएको छ । यो अभियानले दोलखाको पर्यटनलाई प्रवर्द्धन गर्दै च्योर्दोङलाई देशकै महत्त्वपूर्ण गन्तव्यको रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
कसरी पुग्ने:
काठमाडौं–जिरी १८८ किमि । काठमाडौंबाट जिरीसम्म गाडीमा ६ घण्टा लाग्छ । जिरीबाट जिपमा १:५ घण्टा जिप यात्रामा क्याङ्सी । क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ । साथै जिरी बजारबाट हिँडेर ५ घण्टा लाग्छ ।