नेपाल न्युज प्वाइन्ट डटकम
यु-१९ महिला एसिया कप : पाकिस्तानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपाल एसीसी यु-१९ महिला एसिया कपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको पहिलो खेलमा पाकिस्तान यु-१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । सोमबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लगातारको दोस्रो हारसहित पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो ।

नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाइन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । 

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् । नेपालका लागि कप्तान पुजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १-१ विकेट लिए । अब नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update