काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । म्याद थप गर्न उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि अदालत लगिएको हो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।