नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।  सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका उनलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । 

पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । 

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update