काठमाडौं : सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा थप अभियोग दर्ता गरेको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको हो ।
थप अभियोग दर्ता भएकारुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई छन् । यस्तै पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको छ ।
थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।
अहिले प्रहरी हिरासतमा रहेका रवि, छविसहित जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।