रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ४ मा 'कर्णाली भूकम्प पुनर्लाभ' कार्यक्रम संचालन भइरहेको छ । २०८० साल कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प पश्चात नेपाल रेडक्रस सोसाइटी रुकुम (पश्चिम) जिल्ला शाखाले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र विभिन्न साझेदार राष्ट्रिय सोसाइटीहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०२४ मे देखि सानीभेरी गाउँपालिकाको वडा नं. ४ लाई कार्यक्षेत्र बनाएर कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रम संचालन गरिरहेको छ ।
परियोजनाअन्तर्गत आवास, खानेपानी, सरसफाइ तथा स्वच्छता/स्वास्थ्य, जीविकोपार्जन, संरक्षण लैङ्गिक तथा समावेशीकरण र सामुदायिक संलग्नता तथा जवाफदेहिताका साथै विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम भइरहेको नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाले जनाएको छ ।
परियोजना अन्तर्गत सानीभेरी गाउँपालिका वडा नं. ४ मा विभिन्न क्षेत्रमा हाल सम्म सम्पन्न भएका गतिविधिहरु यसप्रकार छन् :
आवास :
-अस्थायी आवास स्तरोन्नतिको लागि ६० घरधुरीलाई रु १५,०००/का दरले नगद सहयोग उपलव्ध गराइएको ।
-समुदायमा सुरक्षित आवास निर्माण सम्वन्धी सचेतनाका लागि सहभागितामूलक अवधारणा (पीएएसएसए) को कार्यान्वयन गरिएको ।
खानेपानी, सरसफाइ तथा स्वच्छता/स्वास्थ्य :
-नयाँ शौचालय निर्माण तथा स्तरोन्नतिको लागि ५५ घरधुरीलाई रु १५,०००/ का दरले नगद सहयोग उपलव्ध गराइएको ।
-श्री राष्ट्रिय आधारभूत विद्यालय चाख्लेमेलामा खानेपानी र हात धुने धाराको निर्माण कार्य भइरहेको र सामुदायिक स्वास्थ्य इकाई चाख्लेमेला खानेपानीको व्यवस्थापन भइरहेको ।
-गरायला स्वास्थ्य चौकीमा हात धुने धाराको निर्माण कार्य सम्पन्न गरिएको ।
-मुरेखोला तल्लाकाँडा इजर खानेपानी आयोजनाको निर्माण कार्य भइरहेको र खानेपानी उपभोक्ता समिति तथा खानेपानी सुरक्षा योजना टोलीका प्रतिनिधिहरुलाई निर्माण पूर्व व्यवस्थापन तालिम र खानेपानीको गुणस्तर जाँच सम्वन्धी तालिम सम्पन्न गरिएको ।
-१ स्वास्थ्य चौकी र १ सामुदायिक स्वास्थ्य इकाईलाई आवश्यकतानुसारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको ।
-सानीभेरी माध्यमिक विद्यालय बलिबाङ्गका २४ जना विद्यार्थी र १ जना जुरेसको शिक्षक नायकलाई २ दिने प्राथमिक उपचार तालिम प्रदान गर्नुको साथै प्रत्येक सहभागीहरु र विद्यालयलाई प्राथमिक उपचार सामाग्री हस्तान्तरण गरिएको ।
-वडामा रहेका ५ वटा स्वास्थ्य आमा समूहहरुलाई २ थानका दरले स्ट्रेचर हस्तान्तरण गरिएको ।
-महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, विद्यालय शिक्षक र आमा समूहका २४ जना प्रतिनिधिहरुलाई महामारी नियन्त्रण तालिम सम्पन्न गरिएको ।
-समुदाय, विद्यालय तथा स्वास्थ्य खानेपानी, सरसफाइ तथा स्वच्छता र स्वास्थ्य प्रवर्द्धन सम्वन्धी जनचेतनामूलक सेसनहरु सम्पन्न गरिएको ।
जीवकोपार्जन :
-जीवकोपार्जन सशर्त नगद अनुदान सहयोग अन्तर्गत वडाका १३३ घरधुरीलाई व्यवसायिक योजना वमोजिमको काम संचालन गर्नका लागि प्रति घरधुरी रु ५०,०००/ का दरले नगद सहयोग उपलब्ध गराइएको ।
-जीवकोपार्जन सशर्त नगद अनुदान सहयोग प्राप्त गर्ने घरधुरीहरुको लागि वित्तीय साक्षरता र व्यवसायिक योजना निर्माण साथै पशुपालन तालिम सम्पन्न गरिएको ।
-कामको लागि नगद कार्यक्रम अन्तर्गत मुरेखोला बलिबाङ्ग ढिंक सिंचाई आयोजनाको काम अन्तिम चरणमा रहेको ।
संरक्षण लैङ्गिक तथा समावेशीकरण र सामुदायिक संलग्नता तथा जवाफदेहिता :
-समुदाय तथा विद्यालयमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम, विपद् पूर्वतयारी र पूर्व सूचना प्रणाली सम्वन्धी जनचेतनामूलक सेसन संचालन गरिएको ।
-वडाका ७ जना अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको आवश्यकतानुसारको सहायता सामाग्री हस्तान्तरण गरिएको ।
-विद्यालयमा वालमैत्री स्थान व्यवस्थापनको लागि ३ वटा विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको ।
-सानीभेरी माध्यमिक विद्यालय बलिबाङ्ग र राष्ट्रिय आधारभूत विद्यालय चाख्लेमेलाका ५३० जना विद्यार्थीहरुलाई विद्यालय किट हस्तान्तरण गरिएको ।
विपद् जोखिम न्यूनीकरण (आपतकालीन पूर्वतयारी) :
-वडा विपद् व्यवस्थापन समितलाई विपद् प्रतिकार्यका लागि २७ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएको ।
-पारिस्थितिक प्रणालीमा देखिएको असर न्यूनीकरण गर्न, जंगली जनावर र चराचुरुङ्गीलाई पानीको आवश्यकता परिपूर्ति गर्न र जलस्रोतको पुर्नभरण गर्न टुरा वस्तीमा वाधापानी रिचार्ज पोखरी निर्माण कार्य सम्पन्न भएको कार्णाली भूकम्प पुर्नलाभ कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बताए ।