सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको महाकुलुङ आधारभूत अस्पताल बुङमा महाकुलुङ ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । बुङस्थित अस्पताल भवनमा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुलुङ र तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अधिकृत हरि कार्कीले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरे ।
उद्घाटनपश्चात मंगलबार स्थानीय ज्येष्ठ नागरिक दुर्गाजीना राईको आँखा परीक्षण गरेर सेवा प्रारम्भ गरिएको छ ।
गाउँपालिका अध्यक्ष कुलुङले निवर्तमान अध्यक्ष सागर किराँतीको पालामा भवन निर्माण भएर केही सेवा प्रारम्भ भएपनि आफू आएपछि यसको निर्माण कार्य सम्पन्न गर्ने र आवश्यकता अनुसार सेवा थप गर्नेतर्फ आफू क्रियाशील रहेको बताए । आफ्नै पहल र प्रयत्नमा यसअघि दन्त सेवा सुरु भएको जानकारी दिँदै अध्यक्ष कुलुङले आजबाट थप भएको आँखा उपचार सेवाले स्थानीय जनतालाई राहत दिने धारणा व्यक्त गरे ।
जनतालाई आँखा उपचार सेवा दिने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गर्ने सोच बनाएर तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरेको उनले बताए । अध्यक्ष कुलुङले अब सामान्य आँखा रोगको उपचार गर्न फाप्लु र तिलगंगा पुग्नुपर्ने समस्याको अन्त्य मात्र नभइ समय र पैसाको बचत समेत भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अधिकृत हरि कार्कीले महाकुलुङमा सुरु भएको आँखा उपचार केन्द्रमा परीक्षणका लागि अत्याधुनिक उपकरण रहेको जानकारी दिँदै शल्यक्रिया बाहेकका सेवा पाइने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खरीधन राईले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमा महाकुलुङ सोलुखुम्बुका अन्य पालिका भन्दा कमजोर नरहेको बताउँदै थप उन्नतिका लागि सबै एक भएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ, वडा नं १ का वडाध्यक्ष पर्खीधन राई, वडा नं २ का वडाध्यक्ष प्रदीप कुलुङ र हिमचुली युवा एकता क्लबका अध्यक्ष निरकुमार कुलुङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले सञ्चालन गरेका थिए ।