नेपाल न्युज प्वाइन्ट डटकम
नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो उपाधि

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४७ रन जोडेका हुन् । त्यस्तै गुल्शन झाले २५ बलमा ३ छक्काको सहयोगमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको सहयोगमा २६ रन बनाउँदा कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।

यस्तै ओपनर कुशल भुर्तेलले १० बलमा २ छक्का र १ चौकाको सहयोगमा २० रन जोडे । करण केसीले ४ बलमा १ छक्काको सहयोगमा ९ रन जोडे भने सोमपाल कामी र प्रतिश जिसीले समान ६-६ रन जोडे । दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए भने आरिफ शेख शून्य रनमा आउट भए ।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गग्टेन, माइकल लेभिट र सिब्रान्डले समान २-२ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update