नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच १९ बुँदे साझा प्रतिबद्धता

सुर्खेत : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता गरेका छन् । दुई प्रदेशकाे समृद्धि र विकासकाे साझा सराेकारकाे विषयलाई सम्बोधन गर्ने गरी दुबै मुख्यमन्त्रीले साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

यस्ता छन् १९ बुँदे साझा प्रतिबद्धता

१. प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने ।

२. प्रदेश कानुनबमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने।

३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने।

४. अन्तर प्रदेश आवद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्नेः-

(क) जमुनाह-हिल्सा सडक,

(ख) सुर्खेत-तेलपानी-भुरीगाउँ सडक,

(ग) राप्ती लोकमार्ग निर्माण,

(घ) कोहलपुर सुर्खेत सडक विस्तार,

(ड) कोहलपुर-बबई तथा बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन।

५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने।

६. भैरहवा-सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने।

७. कोहलपुर सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने।

८. दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने।

९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने।

१०. लागू औषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने।

११.लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीकाे साहसिक पर्यटकीय गन्तव्यसम्म जाेड्नेगरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयाेजना तयारी र लगानीमा सहकार्य गर्ने ।

१२. दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जाेडेर संयुक्त पर्यटन प्याकेज निर्माणकाे लागि निजि क्षेत्रसंग समन्वय र सहकार्य गर्ने ।

१३. दुबै प्रदेशकी सीमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन प्रसारण लाइन विस्तार तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने।

१४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने।

१५. बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, बडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ५ की साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समज अनुरोध गर्ने।

१६. दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने।

१७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई सुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवम् लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन सदै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने।

१८. दुबै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमवाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।

१९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्त्रयात्मक बैठकलाई निरन्तरता दिदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update