नेपाल न्युज प्वाइन्ट डटकम
त्रिवेणीका एक सय सात जना भूमिहीनले प्राप्त गरे जग्गा प्राप्तिका लागि निस्सा

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका छन् । पालिकामा रहेका एक सय सात जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवास गर्दै आएका लाभग्राहीले निस्सा प्राप्त गरेका हुन् ।  

गाउँपालिकाको कार्यालयमा खारानेटामा आइतबार एक कार्यक्रमका बीच २३ जना भूमिहीन दलित, २ जना सकुम्बासी  र ८२ जना अव्यवस्थित लाभग्राहीलाई निस्सा प्राप्तका लागि प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य शुशील विष्टले जानकारी दिए ।

No description available.

उनका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्दै आएका व्यक्तिका लागि निस्सा प्राप्त गर्नु भनेको जग्गा प्राप्तिका लागि पहिलो आधार हो । ‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित रुपमा  बसोबास गर्दै आउनुभएका व्यक्तिहरुले जग्गा पाउँ भनेर निवेदन पेश गर्नुभएको थियो । सोही निवेदनका आधारमा उहाँहरुलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरेका छौं । अब दोस्रो चरणमा उहाँहरुले दाबी गरेको जग्गा नापजाँच गर्छौं र तेस्रो चरणमा सबै प्रक्रिया पुगेकाहरुलाई लालपुर्जा वितरण गर्छौ,’ उनले भने । 

तर जग्गा प्राप्तिका लागि दाबी विरोधको सूचनामा लाभग्राहीको नाम निश्चित भएर आनुपर्ने हुन्छ । दाबी विरोधमा लाभग्राहीको नाम निश्चित नभएमा भने जग्गा प्राप्त गर्न नसक्ने विज्ञ सदस्य विष्टले जानकारी दिए । अव्यवस्थित बसोबास गर्दै आएका लाभग्राहीले जग्गा पाउने निश्चित भएमा सात हजार वर्गमिटरसम्म जग्गा प्राप्त गर्न सक्ने छन् । भूमिहीन दलित तथा सुकुम्बासीले आवासको लागि तीन सय वर्गमिटर र कृषिको लागि एक हजार वर्गमिटिर जग्गा प्राप्त गर्ने राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष मिनबहादुर ओलीले जानकारी दिए । 

उनका अनुसार छनोटमा परेका लाभग्राहीहरुलाई भोगचलन गर्दै आएको जग्गा उपयुक्त भएमा सोही ठाउँकै जग्गा दिने र त्यहाँ उपयुक्त नभएमा भूमि आयोग तथा स्थानीय सरकारको निर्णयअनुसार उपयुक्त ठाउँ खोजेर जग्गा प्रदान गरिने छ । भूमिहीन दलित तथा सुकुम्बासी हाल भाडाको घर तथा अर्काको घरमा बस्दै आएका छन् । जिल्लामा एक हजार आठ सयभन्दा बढी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवास गर्दै आएका लाभग्राहीले जग्गाको लागि निवेदन दिएको बताइएको छ । 

No description available.

त्रिवेणी गाउँपालिकाबाट शुरु भएको निस्सा वितरण कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालन गरिने राष्ट्रिय भूमि आयोगका अध्यक्ष ओलीले जानकारी दिए ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा स्थानीय सहजीकरण समितिका संयोजक गनेशकुमार केसीको अध्यक्षतामा भएको निस्सा वितरण कार्यक्रमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विज्ञ सदस्य विष्ट, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, दश वटै वडाका वडा अध्यक्षलगायत राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update