रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा भूकम्प पीडितका लागि खानेपानीका धारा र शौचालय निर्माण गरिएको छ ।
रुकुमेली समाज विकास केन्द्रले बेलायती विकास नियोगको सहयोग तथा युनिसेफको साझेदारीमा सञ्चालन गरेको भूकम्प प्रभावित क्षेत्रमा खानेपानी तथा सरसरफाइ पुनर्लाभ कार्यक्रममार्फत यहाँ खानेपानीका धारा र शौचालय निर्माण गरिएको हो । उक्त कार्यक्रममा सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाको सहलगानी रहेको छ ।
सानीभेरी र मुसीकोटका ७३४ घरधुरीमा खानेपानीका धारा र ८५० घरधुरीमा शौचालय निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष केशन कुमार क्षेत्रीयालले जानकारी दिए । घरघरमा मिटरसहितको खानेपानी सुविधा र व्यवस्थित शौचालय बनपछि यहाँका भूकम्प प्रभावितहरु हर्षित भएका छन् ।
यसैगरी ९ वटा विद्यालयमा पनि खानेपानी र शौचालय निर्माण गरिएको छ । भूकम्पका कारण खानेपानीको मुहान सुक्दै गएको र प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोगको महामारी फैलिने जोखिम रहेकोले यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष क्षेत्रीयालको भनाइ छ ।
कार्यक्रममार्फत सानीभेरीमा १० वटा र मुसीकोटमा ४ वटा खानेपानी आयोजना निर्माण गरिएको छ । कार्यक्रमबाट ७३४ घरधुरीका तीन हजार ५५१ जनसंख्या लाभाविन्त भएको केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले बताए ।
सानीभेरीका ५ र मुसिकोटका ४ विद्यालयमा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । यसबाट विभिन्न कक्षाका एक हजार ७९७ जना विद्यार्थी लाभान्वित भएका छन् । कार्यकारी निर्देशक ओलीले यहाँका २० वटा समुदायमा सञ्चालन गरेको स्वच्छता प्रवद्र्धनका गतिविधिहरु मार्फत दुई हजार ३२१ घरधुरीका १३ हजार ३५३ जनसंख्या लाभाविन्त भएको जानकारी दिए । कार्यक्रममार्फत सीपमूलक तालिम सञ्चालन गरेर दक्ष जनशक्ति समेत उत्पादन गरिएको निर्देशक ओलीले जानकारी दिए ।