काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।
गत मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठकको निर्णयबारे आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै दल दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।
यस्तै बैठकले झापादेखि कञ्चनपुरसम्म मार्च सञ्चालन गर्ने पनि निर्णय गरेको छ । भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायत मुद्दाविरुद्ध यो मार्च चलाइने जानकारी दिइएको छ ।
जनमार्चमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जवस मोर्चाका नेता, सामना साँस्कृतिक परिवार सहभागी हुनेछन् ।
यस्तै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चा, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय पनि गरेको छ ।