काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने माग उठेको छ । रास्वपाबाट निष्कासनमा परेका उनलाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने माग उठेको हो ।
कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।
त्यस्तै ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले पनि लेखेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको भन्दै यादवले संकटको यो घडी फुटेर होइन जुटेर अघि बढ्नुपर्ने उलेल्ख गरे ।
रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो । पार्टीको अनुशासनविपरित काम गरेको र बोल्दै हिडेको भन्दै उनलाई निष्कासन गरिएको थियो ।