काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । बिहीबार प्रहरीले ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । स्वर्णलक्ष्मी सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने विषय प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
१ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । सुरुमा एक अर्ब ११ करोड रूपैयाँ ठगिएको दाबी गर्दै जाहेरी दिइएको थियो । पछि जाहेरी र पीडितको संख्या बढेपछि बिगो पनि थप भएको हो ।