काठमाडौं : सार्वजनिक यातायातको भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागू हुने गरी अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको हो ।
योसँगै यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि भएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादरमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ०.०५ प्रतिशतले वृद्धि भएको हो ।
भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्रीस्तरीय सहमतिमा सोही साल असार २९ मा भाडादर समायोजना गरिएको थियो । त्यसपछि विभिन्न मितिमा इन्धनमा भएको ५ प्रतिशतको मूल्य घटी या बढी हुँदा भाडादर समायोजन गरिएको थियो । अन्तिम पटक २०८० साउन ३१ मा भाडादर समायोजना गरिएको थियो ।