काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला अदालतमा हाजिर भएकी छन् । मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी पोखरेलकी पत्नी कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन् ।
बुधबार बिहान अदालतमा हाजिर भएकी कोइरालाको केही समयमा थुनछेक बहस सुरु हुने बताइएको छ । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।